काठमाडौं । विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कटकाल आपत्काल निम्त्याएको घोषणा गरेको छ। कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।
चीनमा अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्। गेब्रियसका अनुसार विश्व आपतकालीन अवस्था घोषणा गर्नुलाई चीनमा फैलिएको संक्रमणभन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।
वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् । सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । बीबीसी




