काठमाडौं। नेपाल विद्यार्थी संघको अध्यक्षमा राजिन ढुंगाना चयन भएका छन् । ढुंगानलाई आज पार्टी सभापति शेरबहादुर देउवाले संघको अध्यक्षको जिम्मेवारी दिएका हुन ।
नेविसंघमा १ सय २७ सदस्य हुने भनिए पनि आज तीन सदस्य समितिमात्र ल्याइएको छ । संघको महामन्त्रीको जिम्मेवारी मनोज बैद्य र महेश्वरी कुवरले पाएका छन् । करिव एक वर्षदेखि नेतृत्व विहिन भएको नेपाल विद्यार्थी संघले नयाँ नेतृत्व पाएको छ ।
अध्यक्ष ढुंगाना २०४६ सालको प्रजातान्त्रिक आन्दोलदेखि राजनीतिमा सक्रिय छन् । सुनसरीका ढुंगाना जनता क्याम्पस इटहरीको स्ववियु सभापतिको उम्मेद्वार बनेका थिए । ढुंगाना सुनसरी नेविसंघको जिल्ला सदस्य हुँदै निर्वाचित केन्द्रीय सदस्य बने । त्यसपछि नेविसंघको केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्षको समेत जिम्मेवारी ढुंगानाले निर्वाह गरे ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वाले नेविसंघ गठन गरेका हुन ।





