काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रगतको अभावमा छट्पटाइरहेका बिरामीले पैसा तिरेर रगत लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आज काठमाडौंमा आयोजित १४ औंँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस समारोहमा उनले भने “दाताले रगत दिइरहने तर पीडितले पैसा तिरेर मात्रै रगत लिनुपर्ने अन्तरविरोधको समाधान छिटोभन्दा छिटो हुनुपर्दछ ।” अध्यक्ष दाहालले नेकपाको अध्यक्ष र सरकारको नेतृत्व गर्ने पार्टी नेताको हैसियतमा अन्तरविरोध समाधान गर्न आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रम सोसाइटीका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाले कुनै पनि ठाउँमा रगत उत्पादन गर्ने कुरा नभइ मान्छेले नै मान्छेलाई दिनुपर्ने हुँदा रगत दानका लागि सर्वसाधारणमा चेतना र प्रोत्साहन जरुरी रहेको बताए ।
थालेसिमिया समाजका अध्यक्ष दुर्गा पाठकले रगत र थालेसिमियाका बिरामीको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गरे । सो अवसरमा अध्यक्ष दाहालले १० जना रक्तदातालाई कदरपत्रद्वारा सम्मान गर्नुका साथै समाजले प्रकाशन गरेको ‘हाम्रो रगत पुस्तक’को लोकार्पण पनि गरे ।




