ताजा समाचार

सुन तस्करीका लागि विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट

काठमाडौं । गत बर्ष ३३ किलो सुन तस्करी भएको मुद्धामा सरकारले ७२ जना भन्दा बढीलाई मुद्धा चलायो । सरकारले त्यतिबेलादेखि सुन तस्करी रोकिएको दावी गरेको थियो । तर पछिल्लो समय सुन तस्करहरू सल्बलाउन थालेका छन् । विमानस्थलबाट आठ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल भ्रमण वर्ष मनाइरहेका बेला नेपाल अन्तर्राष्ट्रिय तस्करहरूको ट्रान्जिट बिन्दु भएको र उनीहरूले निर्धक्क सेटिङ मिलाएर विमानस्थलबाटै सुन तस्करी गरिरहेको संकेत गरेको छ ।

हङकङबाट आएको नेपाल एयरलाइन्सको उडान आरए ४१० बाट ती दुई चिनियाँ नागरिक उक्त सुनसहित पक्राउ परेका थिए । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू चेन होङयाङ र चेन इङचुहाङ रहेका छन् ।त्यसैगरी अर्का चिनियाँ नागरिक सा लुटुई एक किलो सुनसहित पक्राउ परे । तिब्बत एयरमा चीनबाट काठमाडौं आएका लुटुईले मलद्वारभित्र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । यी दुई घटना एक साताबीचका हुन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सुनको तस्करी नरोकिएको बरु उल्टै बढ्दै गएको यी दुई घटनाले पुष्टि गर्दछ । भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै सुनको तस्करी रसुवाको केरुङ नाकाबाट हुँदै आएको थियो । संगठित रूपमा ठूलो परिमाणको सुन केरुङबाट तस्करी हुँदै आएकोमा अहिले त्रिभुवन विमानस्थलबाट पनि सुन तस्करी भइरहेको पुष्टि भएको छ । प्रहरीको संरक्षणबिना सुन तस्करी हुनै नसक्ने बताइन्छ ।

यी दुई घटना प्रहरीसँग सेटिङ नगरी ल्याइएका कारण वा लेनदेनमा कुरा नमिलेपछि प्रहरीले पक्राउ गरेको हो, अड्कल काट्न कसैलाई गाह्रो पर्दैन । अहिले एयरपोर्टमा एसएसपी रामकृपाल शाहले कमाण्ड सम्हालिरहेका छन् । एयरपोर्टबाट सुन तस्करी गर्ने गिरोह अहिले संगठित रूपमा लागेको मात्रै होइन, विमानस्थलमा कार्यरत सुरक्षा निकायहरूलाई प्रभावमा पारी तस्करीमा सक्रिय छ भन्ने कुरा पनि पुष्टि हुन्छ । हुन्डीको अवैध कारोबारमा संलग्न रहेका तस्करहरू नै अहिले सुन तस्करीमा लागेको आशंका व्यापारीहरूले गर्दै आएका छन् । स्थलमार्ग केरुङबाट सुन ल्याउँदा धेरै जोखिम मोल्नुपर्ने र बीचमा लुटपाट हुनसक्ने भएका कारणले पनि विमानस्थललाई प्रयोग गरेर सुन तस्करी सुरु भएको देखिन्छ ।

पछिल्लो सयम त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिमाण हेर्दा सेटिङमा नै सुन तस्करी भइरहेको पुष्टि हुन्छ । तस्करीमा हुन्डीका तस्करदेखि विगतमा सुनको तस्करीमा संलग्न रहेका तस्करहरू नै सक्रिय हुन थालेको आशंका गरिएको छ । प्रहरीले सुन तस्करीको जालो तोडिएको दाबी जति गरे पनि त्यो झूटो साबित भएको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य बढी भएका कारण पनि सुन तस्करहरू नेपालको बाटो हुँदै भारततर्फ सुन तस्करीमा सक्रिय हुँदै आएका छन् ।

प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पनि विगत एक वर्षमा विमानस्थलबाट मात्रै ३६ किलो सुनसहित ९१ जना पक्राउ परेको देखिन्छ । सुनसहित पक्राउ परेकामध्ये सबैभन्दा बढी नेपाली र त्यसपछि भारतीयहरू रहेका छन् । एयरपोर्टबाहेक रसुवाको केरुङ, गोरखाको उत्तरी नाका र संखुवासभाको किमाथांका नाकाबाट सुनको तस्करी भइरहेको देखिन्छ । २०७४ चैत २० गते गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदनमा समेत यी नाकाहरूको नाम उल्लेख गरिएको छ । पौडेलको समितिले दिएको प्रतिवेदनकै आधारमा पक्राउ परिने डरले सुन र डलरको तस्करका रूपमा आफनो छवि बनाएका एमके अग्रवाल हालसम्म पनि फरार छन् । उनीविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरे पनि पक्राउ गर्न सकेको छैन । अग्रवालले लामो समयदेखि डलर, हुन्डी र सुनको अवैध कारोबार गर्दै आएका थिए । विशेष टोलीले झन्डै ३ सय जनामाथि थप अनुसन्धानको सिफारिससहित गत साउनमा सरकारलाई बुझाएको प्रतिवेदनमा अग्रवालमाथि मुख्य लगानीकर्ता, व्यवस्थापक र तस्कर भएको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *