काठमाडौं । सत्तारुढ दल नेकपाको २१ महिनापछि पार्टी केन्द्रीय कमिटीको बैठक १५ माघ अर्थात बुधबार राष्ट्रिय सभागृहमा बस्दैछ । ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठक २१ महिनापछि बस्न लनगेको हो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि नेकपाको केन्द्रीय कमिटीको बैठक बस्न सकेको थिएन् । बैठकका लागि मुख्य तीन वटा एजेण्डा तय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफल पछि पारित गर्ने, विधान संसोधन गर्ने, संगठन विभागलाई केही अधिकारहरु थप गर्ने, पार्टी केन्द्रमा सचिवालय सदस्य वामदेव गौतमलाई विधान संसोधन गरेर उपाध्यक्ष पद सिर्जना गरि उपाध्यक्ष बनाउने तथा तेश्रो समसामायिक प्रस्ताव पास गर्ने मुख्य यी तीन एजेण्डामा छलफल हुनेछ । बैठक बढीमा ५ दिन भित्र सक्ने गरी तयारी भईरहेको केन्द्रीय कार्यालयले जनाएको छ । बैठकका लागि राष्ट्रिय सभा गृह ५ दिनका लागि बुकिङ गरिएको छ । गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय कमिटी बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो ।
तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय लिएको थियो । नेकपाको पार्टी एकतापछि केन्द्रीय कमिटी जम्बो ४ सय ४१ सदस्यीय छ । माघ १५ देखि बस्न लागेको बैठकमा आमन्त्रित स्थायी समिति सदस्यसहित ४ सय ४७ जना नेता सहभागी हुन्छन् । यति ठूलो संख्याका केन्द्रीय कमिटी बैठक बस्न नेकपालाई केन्द्रीय कार्यालयमा ठाँउ अभाव भएपछि पार्टी प्यालेस, बैंकेट या सभागृहहरुको खोजी गरेको थियो । पार्टी बैठक गर्मागर्मी बहस हुने देखेपछि उसले सुरक्षित स्थानको पनि खोजी गर्दा राष्ट्रिय सभा गृह बुक गरेको हो । नेकपाले पार्टी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संसोधन प्रस्ताव लगायतका विषयमा केन्द्रीय सदस्यहरुका बीचमै समुह विभाजन गरी छलफल गराउने भएको छ । बैठकमै सबै सदस्यहरुलाई बोल्न दिदा समय धेरै लाग्ने र बैठक नै समेत दुई चार महिना नै जाने देखेपछि उसले विकल्पका रुपमा समुह विभाजन गरी छलफल गराउने तयारी गरेको हो । बैठकको पहिलो दिन अध्यक्षद्वयका तफबाट राजनीतिक प्रतिवेदन र महासचिवका तर्फवाट विद्यान संसोधन प्रस्ताव पेश भएपछि सहभागी नेताहरुको समुह विभाजन गर्ने नेकपाले जनाएको छ ।
त्यसरी समुह विभाजन गरेपछि प्रतिवेदनहरुमाथीको समुह छलफलका लागि भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडास्थित कार्यालय र सभागृह गरी तीन स्थानमा ठाँउमा छलफल गर्ने गरी ब्यवस्थापन गरिन लागिएको छ । सदस्यलाई पार्टी बैठकमा आउँदा खानबस्ने ब्यवस्था आफैं मिलाउन केन्द्रीय कार्यालयले सूचना पठाएको छ । बैठक अवधीभरको चिया–खाजाको ब्यवस्थापन भने पार्टीले गर्ने जानकारी नेताहरुलाई गराईएको छ । खाजाका लागि क्याटरिङलाई जिम्मा दिने तयारी नेकपाले गरेको छ । तर क्याटरिङले खाजाको ब्यवस्थापनका लागि खाजा पाकेट बाहिर बनाएर ल्याउन नपाइने गरी सभा गृहमै मेस राखेर बनाउनु पर्ने गरि कोटेशन आव्हान गरिएको छ । क्याटरिङलाई ४ सय ४७ केन्द्रीय नेता, शीर्ष नेताहरुका स्टाफ, सेक्युरेटी लगायत गरि ७ सय जनालाई ५ दिनका लागि खाजा ब्यवस्थापन गर्नुपर्ने गरि नेकपाले कोटेसन माग गरेको छ । पार्टी एकतायताका सबै पार्टी निर्णय, दस्तावेजहरु नेकपाले पार्टी नेताहरुलाई यही वैठकमा उपलब्ध गराउने भएको छ । केन्द्रीय समितिमा अध्यक्षदयले पेश गर्ने दस्तावेज समेत छपाई गरेरै वितरण गर्ने योजना नेकपाले वनाएको छ ।
आइतबार मात्रै दुई अध्यक्षको निर्देशनमा महासचिवलाई बैठक तयारीका बारेमा बिफ्रिङ गरेका कार्यालय सचिवद्दयले आवश्यक तयारी पूरा भएको तर अव दस्तावेज आफुहरुलाई छपाईका लागि छिटो उपलब्ध गराईदिन आग्रह गरिएको छ । यसरी चल्छ केन्द्रीय समिति बैठक :
१५ माघः बिहान ११ वजेवाट केन्द्रीय समिति बैठक शुरु । अध्यक्षद्वयको सम्बोधनसँगै राजनीतिक प्रतिवेदन, विधान संसोधन प्रस्ताव प्रस्तुत हुने । केन्द्रीय सदस्यहरुको समुह विभाजन ।
१६ माघः समुहका समुह नेताहरुको चयन । दस्तावेजमाथी समुहगत छलफल । राष्ट्रिय सभा गृह, धुम्बाराही पार्टी कार्यालय र पेरिसडाँडा पार्टी सम्पर्क कार्यालयमा छुट्टाछुट्टै छलफल ।
१७, १८ माघः समुह छलफलबाट प्राप्त सुझावहरु समुह नेताबाट केन्द्रीय कमिटी बैठकमा प्रस्तुत । भिन्न मत आएमा उनीहरुलाई पनि मत राख्न दिने सम्भावना ।
१९ माघः समुह नेताहरुले विधान संसोधनमा उठाएका जवाफ महासचिव र राजनीतिक प्रतिवेदनमा उठाएका प्रश्नमा अध्यक्षद्वयले जवाफ दिने । पार्टी अभियान, समसामायिक प्रस्ताव पारित गदै केन्द्रीय समिति बैठक समापन ।




