ताजा समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍याे महाधिवेशनकाे कार्यतालिका सार्वजनिक, यस्ताे छ कार्यतालिका 

काठमाडौँ।नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका आधारमा गरिएको निर्णयमा परिमार्जन गरिएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण र छानबिन तथा गाउँ-नगर वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिकामा परिमार्जन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

परिमार्जित निर्णयअनुसार गाउँ नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउ नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ र एक भन्दा बढी भएकाको जिल्ला अधिवेशन कात्तिक २५ र प्रदेश अधिवेशन मङ्सिर २९ गते हुनेछ । पार्टीको १४औँ केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएको मिति २०७७ फागुन ७ देखि १० गते काठमाडौँमा नै गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बैठकले यही माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने, आगामी फागुनदेखि चैत मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने, २०७७ वैशाख मसान्तभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसैगरी २०७७ जेठ १५ भित्र नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिने, जेठ मसान्तभित्र उजूरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्नेछ ।

विसं २०७७ असार १५ भित्र क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी दिइसक्नुपर्ने, साउन १५ भित्र उजूरीउपर केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने, साउन २५ भित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाइसक्नु पर्नेछ । साउन मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने निर्णय भएको उनले बताए ।

पार्टीको विधानबमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति” ले गर्ने कार्यसम्पादन गर्न सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र सभापतिले समितिका संयोजक तथा सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय गरिएको छ । पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न परिमार्जनसहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका दफा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले बताए। केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे बस्नेछ ।

यस्ताे छ महाधिवेशनकाे कार्यतालिका ः
१. नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पुर्याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ ।
(क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।
(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।
(छ) उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

२. अधिवेशन ः
(क) गाउँ-नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते
(ख) गाउँ-नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

३. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने ।

४. पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *