काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई दिने विषयमा सहमति जनाएका छन् । संघीय समाजवादी पार्टीसँग सम्बन्ध तोडेको सत्तारुढ दल नेकपाले उपसभामुख राजपालाई दिने तयार भएको हो प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएपछि यो पदमा कसको उम्मेदवारी पर्छ भन्ने सर्वत्र चासो चिन्ता बढेको छ ।
उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ । संविधानको धारा ९१ (२) मा भनिएको छ,– ‘सभामुख र उपसभामुखको निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्ने छ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ।’ सभामुखको उम्मेदवारीमा अग्नी सापकोटालाई अघि सार्दा राजपाले समर्थन गरेकाले राजपाले उपसभामुख पाउने संभावान बढेको छ । गत पुस २ गते राजपा र नेकपाबीच भएको दुई बुँदे सहमतिले नै उपसभामुख राजपालाई दिने चर्चा राजनीतिबृत्तमा सुरु भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा रिक्त उपसभामुख राजपालाई दिन सहमत भएका हुन् । संसद्को बैठक बस्नुअघि दुई अध्यक्षबीच उपसभामुख पदमा राजपालाई समर्थन गर्ने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा नेकपाले प्रदेश २मा राजपासँग चुनावी तालमेल गरेको थियो। त्यसपछि भएको सभामुख निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका अग्नि सापकोटाको राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेका थिए । ९ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएका हुन ।
राजपालाई उपसभामुख पदमा सहयोग गर्ने विषयलाई भने नेकपाले औपचारिक रूपमा सचिवालय बैठकबाट पास गर्नुपर्ने भएकाले त्यसलाई बाहिर ल्याइएको छैन। ‘औपचारिक निर्णय नभएपनि उपसभामुख राजपालाई दिने विषयमा दुई अध्यक्ष सहमत भएका छन्’, बालुवाटारनिकट स्रोतले भन्यो । पुस २ गते सत्तारुढ नेकपा र राजपाबीच दुई बुँदे सहमति भएको थियो। त्यसयता यी दुई दलबीच सहकार्य हुदै आएको छ। निर्वाचनमा सहकार्य गर्ने र राष्ट्रिय मुद्दाहरूमा दुई पार्टीबीच नियमित छलफल गरेर सहकार्य गर्ने सहमति गरेको थियो । राष्ट्रिय सभा निर्वाचनमा नेकपाले प्रदेश २ मा राजपालाई सघाउने सहमतिपत्रमा उल्लेख थियो । सहमतिपत्रमा नेकपाका तर्फबाट प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल तथा राजपाका तर्फबाट अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका थिए ।




