ताजा समाचार

कोरोना भाइरस संक्रमणः चीनका सबै सीमा नाकामा उच्च सर्तकता

काठमाडौं । नेपाल सरकारले नेपाल चीन सीमा क्षेत्रमा उच्च सर्तकता अपनाएको छ । सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुको संयुक्त प्रयासमा नेपाल चीन सीमा क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको हो । चीनबाट फर्र्िकएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीनजनामा त्यसको आशंका गरिएपछि सीमा नाकामा सर्तकता अपनाउन थालिएको छ ।

त्रिभुवन विमानस्थल,तातोपानी, रसुवा, हिल्सा, किमाथांका लगायतका अन्य नाकाहरुमा सुरक्षा सर्तकता अपाइएको स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन । उनीहरूको नाम खुलाइएको छैन । रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।

चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।

त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ । एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन् । नेपालमा चीनबाट आएका नागरिकमा सो भाइरस देखा परेको स्रोतको दावी छ । चीन सरकारले आफ्ना नागरिकलाई तत्काल विदेश नजान दिएको निर्देशन अनुसार हाल नेपाल तर्फ आउने चीनीया पर्यटकहरुमा कमी आइसकेको छ । हाल चीनमा तीव्र रुपमा फैलिएको एक नयाँ घातक भाइरसले अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढाएको छ । छिमेकी देशहरुमा मात्र नभइ सो भाइरसको संक्रमण अमेरिकासम्म पुगिसकेको छ भने २५ जनाको मृत्यु भइसकेको छ । यस्तोमा विभिन्न मुलुकका विज्ञहरु अहिले मास्कको उपयोगीताबारे बहस गरिरहेका छन् । वास्तवमा भाइरसका विशेषज्ञ, भाइरोलोजिस्टहरुले हावाबाट सर्ने रोगहरुमा मास्कको उपयोगीताबारे शंका व्यक्त गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *