ताजा समाचार

पार्टीभित्रको विरोध छल्दै दुई अध्यक्षबीच एमसिसी पास गर्ने सहमति

काठमाडौं । पार्टीभित्र चर्को विरोध भएपनि त्यसलाई छल्दै नेकपाका दुई अध्यक्षबीच एमसीसी संसदबाट पास गर्ने समझदारी भएको छ । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच समझदारी भएको पार्टी उच्च स्रोतले जनाएको छ । पार्टीभित्र यसको चर्को विरोध मात्रै छैन पार्टीका नेताहरुले यसलाई राष्ट्रघाती अनुदान समेत भन्ने गरेका छन् ।

नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी अनुमोदन गराउन समझदारी भएको हो ।एमसीसीलाई सचिवालयमा नलगी सोझै संसदमा टेबुल गर्ने समझदारी भएको स्रोतको दावी छ । नेकपा भित्रै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र मतभेद भइरहेका बेला अध्यक्षद्वयले जिम्मेवारी लिएर आवश्यक बुँदा परिमार्जनसहित एमसीसीको प्रस्ताव सोझै संसदमा लैजाने सहमति गरेको पार्टी उच्च स्रोतले दावी गर्यो । दुई अध्यक्षबीचको समझदारीपछि नवलपरासीमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसीसीका केहि बुँदा परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने बताएका थिए ।उनले पार्टीका कार्यकर्ता समक्ष नेकपाले राष्ट्रिय हीत विपरीतका कुनै सम्झौता स्वीकार्य नहुने बताउँदै एमसीसीबारे अमेरिकासँग संवाद गरेर आवश्यक परिमार्जन सहित अघि बढ्ने बताएका छन् ।

पार्टीभित्र नेकपाका बरिष्ठ नेता झलनाथ खनाल माधव कुमार नेपालले परिमार्जन गरेर लैजानुपर्छ भन्न थालेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल राजपा, कमल थापा नेतृत्वको राप्रपाले पनि एमसीसी बिलम्ब नगरी चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् । नेकपाभित्र भीम रावल, देव गुरुङ, रघुजी पन्त, लिलामणी पोखरेल पम्फा भूषाल लगायतका प्रभावशाली नेताहरु यसको विपक्षमा रहेका छन । गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा एमसिसीको बारेमा चर्को विरोध भएको थियो । सत्तारुढ दलभित्रै विरोध भएपछि भारतीय राजदूतावासले एसिसीको इण्डोप्यासिफिक सैन्य रणनीति अन्र्तगत नभएको दावीसहित विज्ञप्ति निकालेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *