काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सभामुख चयनमा पार्टीका शीर्ष नेताहरुबाट साथ सहयोग नपाएपछि शीर्ष नेताहरुलाई वालुवाटारमा बेग्ला बेग्लै बोलाउन थालिएको छ । नेकपाका तेस्रो वरीयताका वरिष्ठ नेता झलनाथ खनाललाई दुई दिन अघि बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले चार घन्टा लामो कुराकानी गरेका थिए । उनलाई बोलाएर ओलीले चार घण्टा छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सभामुख चयन प्रकरणमा पूर्वएमाले समूहका वरिष्ठ नेताद्वय खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले ओलीलाई साथ दिएका थिएनन । ओलीबाट धेरै धोका भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका नेता अग्नि सापकोटालाई साथ दिएपछि अध्यक्ष ओलीले शीर्ष नेताहरुलाई बेग्ला बेग्लै भेट्ने रणनीति लिएको स्रोतले जनाएको छ । सभामुख चयन प्रकृयाका सचिवालयमै अल्पमतमा पर्ने सम्भावना देखिएपछि ओली सापकोटाको नाममा निर्णयका लागि तयार भएका थिए । ओली–खनालबीच लामो समयदेखि विश्वासिलो सम्बन्ध छैन । पार्टी एकतासँगै आफूलाई वरिष्ठ नेताको वरीयतामा तल पारिएको भन्दै खनाल ओलीसँग असन्तुष्ट थिए । तर, गत ३ भदौको सचिवालय बैठकले उनकै मागअनुसार वरीयता सच्याइएपछि भने ढिलै भए पनि पार्टीले न्यायोचित निर्णय गरेको खनालले प्रतिक्रिया दिएका थिए ।
त्यस यता खनालले घरी ओली त घरी नेपाललाई साथ दिदै आएका छन् । ओलीले पार्टी सञ्चालनबारे अर्का अध्यक्ष प्रचण्डसँग नियमितजस्तै संवाद गर्दै आएका छन । पार्टी सञ्चालनलगायत विषयमा प्रचण्डपछि ओलीले खनाललाई भन्दा नेपालसँगको संवादलाई प्राथमिकता दिने गरेका छन । तर, गत ५ भदौमा ओली–नेपाल सम्बन्ध तिक्ततामा परिणत भएपछि उनीहरूबीचको सम्बन्ध व्यक्तिगत रूपमा अझै सुमधुर भइसकेको छैन । यद्यपि, ओली–नेपालले गत २९ कात्तिकमा करिब ४ घन्टा लामो छलफल गरेर तिक्तता सम्बन्धको समीक्षा गर्दै सुमधुर बनाउने प्रयास गरेका थिए । ओलीको यो प्रयासले आफू इतरका नेताहरुको सम्बन्धलाई मजबुद बनाउने प्रयासको रुपमा हेरिएको छ । लामो समयपछि ओली खनाल एक साथ भेट भएर भलाकुसारी गरेको वालुवाटार स्रोतले जनाएको छ ।




