काठमाडौं । संघीय समाजवादी पार्टीसँग सम्बन्ध तोडेको सत्तारुढ दल नेकपाले उपसभामुख राजपालाई दिने तयारी थालेको छ । राष्ट्रिय सभामा दुई स्थान दिएर सत्ताको ललीप दिएको नेकपाले उपसभामुखमा पनि स्थान दिएर काखी च्याप्ने तयारी थालेको स्रोतको दावी छ ।
प्रतिनिधिसभाको सभामुखको उम्मेवारीसँगै उपसभामुख पद खाली भएपछि यो पदमा कसको उम्मेदवारी पर्छ भन्ने सर्वत्र चासो चिन्ता बढेको छ । उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अब यो पदमा कसलाई ल्याउने भन्ने विषय चर्चामा छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले उपसभामुख पाउनका लागि आफनो तर्फबाट भूमिका खेल्न सुरु गरेको छ । सभामुखको उम्मेदवारी नदिएर नेकपाका उम्मेदवारलाई निर्विरोध हुन सहयोग गरेको विषयले पनि उपसभामुख पाउन कांग्रेसको रणनीति हो कि भन्ने पनि चर्चा हुन थालेको छ ।
संविधानको धारा ९१ (२) मा भनिएको छ,– ‘सभामुख र उपसभामुखको निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नुपर्ने छ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ।’ सभामुखको उम्मेदवारीमा अग्नी सापकोटालाई अघि सार्दा राजपाले समर्थन गरेकाले राजपाले उपसभामुख पाउने संभावान बढेको छ । गत पुस २ गते राजपा र नेकपाबीच भएको दुई बुँदे सहमतिले नै उपसभामुख राजपालाई दिने चर्चा राजनीतिबृत्तमा सुरु भएको थियो । राजपालाई सभामुख दिन समाजवादी पार्टीको तुजुक पनि मेटिने भन्दै कतिपयले यसलाई नेकपाको मधेशकार्डको रुपमा पनि लिएका छन् । नेकपालाई मधेशमा कठिन भैरहेका बेला राजपालाई साथमा लिएर संगठन विस्तारको समेत तयारी गरेको छ ।




