काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरिक्षकदेखी डिआईजीसम्म बढुवा गर्ने तयारी भएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो । गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकास पाउने दिन नजिकै आउनै लाग्दा प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने तयारी भएको हो ।
हाल गृहसचिव राई थाइल्याण्ड भ्रमणबाट फर्के लगत्तै बढुवा प्रकृयाले गति लिन थालेको छ । राई र खनालले आफु निकटकालाई मात्र बढुवा गर्न सक्ने भन्दै तत्काल बढुवा गर्न हुंदैन भन्ने समुह भने बढुवा रोक्न लविङ्गमा छ । डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको लागी एसएसपीहरु दौडमा छन् । सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चौधरी र राजेश लाल कर्ण छन् । त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् ।
जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । एसएसपी धीरजप्रताप सिंह र गणेश ऐरमध्ये एक जना डिआईजी बन्ने लगभग निश्चित भएको स्रोतको दाबी छ । ‘आज सम्मको अवस्था हेर्दा सिंहको सम्भावना बलियो छ, तर ऐरलाई पनि बढुवा गर्न चर्को दबाव भएकाले नहुंदासम्म यसै भन्न सकिदैन् ।’ स्रोतले भन्यो । आगामी माघ २९ बाट २१ डिआईजीको पद रिक्त हुनेछ । हाल १० एसएसपी र १७ जना एसपीको दरबन्दी खाली छ । बढुवाका लागी प्रहरी निरीक्षक,डीएसपी, एसपी र एसएसपी दौडधुपमा छन् ।




