ताजा समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ ।निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ ।  राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो ।

आयोगका अनुसार प्रदेश २ मा शतप्रतिशत मत खसेको छ । यस्तै गण्डकी र कर्णाली प्रदेशका सबै प्रदेश सांसदले मतदान गर्दा गण्डकी प्रदेशको स्थानीय तहतर्फ ९८.८२ प्रतिशत मत खसेको छ भने कर्णाली प्रदेशमा ९८.१० प्रतिशत मत खसेको आयोगले जनाएको छ । बाग्मती प्रदेशमा प्रदेश सभामा ९८.१८ प्रशित मत खस्दा स्थानीय तह तहतर्फ ९९.१६ प्रतिशत मत खसेको छ । त्यस्तै, पाँच नम्बर प्रदेशको प्रदेश सभामा ९८.८५ प्रतिशत र स्थानीय तर्फ ९९.५४ प्रतिशत मत खसेको छ ।

एक नम्बर प्रदेशको स्थानीय तहमा ९९.२७ र प्रदेश सभामा ९८.९२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा ९८.११ प्रतिशत मत खस्दा स्थानीय तहमा ९९.४३ प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ ।

निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । उक्त निर्वाचनको मतगणना कतिपय स्थानमा प्रारम्भ भई परिणाम आउने कार्यसमेत शुरु भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *