काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग सभामुख चयनको विषयमा छलफल सकिएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिधै माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर नेपाल निवासमा करिब २० मिनेट बसेपछि उनी खुमलटार पुगेका थिए ।
आइतबार विहान ओलीको सरकारी निवास वालुवाटारमा सभामुख आफ्नो पक्षमा पारेर निस्केका प्रचण्ड सिधै नेपाल निवास किन पुगे भन्ने कौतहलता बढेको थियो । दुई अध्यक्षवीच वालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो । छलफलको क्रममा वामदेव गौतमको घरमा भएको अनौपचारिक भेटघाट तथा सचिवालय बैठक र पार्टीभित्र देखिएका विषयहरुको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
त्यसैगरी अमेरिकी सहयोग मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी)बारे पनि छलफल भएको थियो । दुई अध्यक्षको भेटघाटमा स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीबारे सार्वजनिक गरेका धारणाको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । प्रचण्डले सभामुख आफ्नो समूहलाई दिनुपर्ने अडान राखेकै बेला ओलीले आइतबार विहान उनी पक्षलाई नै सभामुख दिएका हुन ।




