ताजा समाचार

नेकपामा नयाँ गुट, पौडेल र शर्माको मन्त्री बन्ने चाहाना कायमै

काठमाडौं । सत्तारुढ दल नेकपामा बनेको नयाँ गुट यतिबेला सक्रिय भएको छ । दुई अध्यक्षको सतहमा देखिने गरी शक्ति सङ्घर्ष चलेपछि दोस्रो तहका नेताले नयाँ गुट निर्माणको प्रयास गरेका छन् । दुई अध्यक्षलाई प्रभावमा पारेर महासचिव पद हत्याउन सफल विष्णु पौडेल र एकतापछि पूर्व माओवादीमा प्रभाव बढाएका नेता जनार्दन शर्माको नयाँ गुट जन्मेको हो ।

एमाले र माओवादीबीच एकताका लागि पहल गरेको जशसमेत लिएका पौडेल र शर्माले राज्य सञ्चालनमा कुनै भूमिका नपाएपछि छटपटिएर गुट जन्माएका हुन । सो छटपटाहटलाई साम्य पार्न पौडेल र शर्माले प्रधानमन्त्रीको सचिवालय परिवर्तन र मन्त्रीपरिषद फेरवदल गर्न पार्टी अध्यक्ष केपी ओलीलाई राजी गराएका थिए । उनीहरूको योजना प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल परिवर्तन गर्नु थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निकट रिमाललाई प्रधानमन्त्री कार्यालयबाट नहटाई आप्mनो पहुँच बिस्तार गर्न नसकेको महासचिव पौडेलको बुझाइ छ । पौडेल र शर्माले यस विषयमा प्रधानमन्त्री ओलीलाई राजी गराएका थिए । ओली राजी भएर रिमाललाई अमेरिकाको राजदूत बनाउने मुडमा पुगेको स्रोतको दावी छ ।

रिमाल हटाउन ओली तयार भए पनि ईश्वर पोखरेलले थेगेका कारण बाधा आएको थियो । सो बाधा फुकाउन पौडेलले ईश्वर पोखरेललाई पार्टी महासचिवको आश पनि देखाएका थिए । पार्टी महासचिवको आश देखाएपछि ईश्वर पनि सकारात्मक भएको स्रोतले बताएको छ । पौडेलले आफू सरकारमा अर्थमन्त्री तथा उपप्रधानको रूपमा जाने र ईश्वरलाई महासचिव दिने योजनाका साथ यो काम अघि बढाएको सो स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले यस विषयमा शंकर पोखरेललाई पनि सल्लाह गर्ने संकेत बुझेका पौडेलले शंकरलाई पनि यस्तै चारो हालेका थिए । पाँच नम्बर प्रदेशको राजधानीका साथै पार्टीको महासचिव पौडेल बनेकोमा चित्त नबुझाएका शंकर र पौडेलबीच उति राम्रो सम्वन्ध छैन । स्रोतका अनुसार शंकरलाई कृष्णबहादुर महराको स्थान खाली गराएर संघीय संसदमा ल्याएर परी आए पार्टी महासचिव पद नै दिनेसम्मको आश देखाएका थिए पौडेलले ।

तत्कालका लागि प्रधानमन्त्रीको काम हेर्ने गरी शंकरलाई ल्याउने तयारी पौडेल र शर्माले गरेका थिए । सो अनुसार पूर्व माओवादीका तर्फबाट प्रदेश पाँचको मुख्यमन्त्री बनाउने हल्ला पनि चलेको थियो । उपप्रधान तथा अर्थमन्त्रीका साथै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति देखाउँदै कार्यवाहक प्रधानमन्त्री हुने योजना पौडेलेको थियो भने शर्मा गृहमन्त्री बन्ने योजना थियो । तर, जब ईश्वर र शंकरबीचमा यो बिषयमा छलफल भयो, त्यसपछि उनीहरूको योजना चकनाचुर भयो । पौडेलले दुई पोखरेलमा खेलेको कुरा थाहा पाएपछि उनीहरूले यो योजना विफल तुल्याउन लागे । प्रधानमन्त्रीका सचिवालयबाट रिमाललाई हटाउने विषय शंकर पोखरेलले फेसबुकमा ‘स्टाटस’ नै लेखेर प्रतिवाद गरे ।

उता नयाँ गुटको नयाँ योजना भताभुङ्ग भएसँगै भैसेपाटीस्थित वामदेव गौतमको घरमा नयाँ छलफल भएर केपी शर्मा ओलीका विरुद्ध मोर्चा कसिएको भन्दै पार्टीभित्र नयाँ तरङ्ग आएको छ । औपचारिक वैठक राख्ने अधिकार छदाछदैं अध्यक्ष प्रचण्डले गुटको भेलामा सहभागी भएकोमा पार्टी एकता भत्किन्छ कि भन्ने सन्त्रास पार्टीमा छाएको छ । प्रचण्ड र माधवको भन्दा पनि वामदेव गौतम र नारायणकाजी श्रेष्ठको विशेष पहलमा भएको सो भेलामा सभामुख, पार्टी र सरकारका बारेमा छलफल भएको थियो । आगामी प्रधानमन्त्री र पार्टी अध्यक्षको सपना देखेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच नै सहकार्य, एकता भएकामा भने धेरैले आश्चर्य व्यक्त गरेका छन् । दुई अध्यक्षको अजेण्डाभन्दा पनि स्वार्थकेन्द्रित शक्ति सङ्घर्ष, गुट भेलाहरूले पार्टीलाई थप अराजकता, अन्यौलतातिर लगिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *