काठमाडौं । प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडा तोकियोस् भनी पेश गरेको प्रस्ताव बहुमतले पारित भएको थियो ।
प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय १० सदस्य रहेको प्रदेशसभामामतदानका लागि १ सय ८ जना मात्रै सहभागी थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो। त्यस्तै, काभ्रेपलान्चोकको धुलिखेलको पक्षमा तत्कालिन विवेकशील साझाको तीन मत मात्र परेपछि अस्वीकृत भएको छ।
त्यस्तै प्रदेशको नाम बागमती कायम भएको छ। प्रदेशको नाम बागमती राखियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको । यसको पक्षमा कुल उपस्थित १ सय ८ मध्ये सत प्रतिशत मतदान भएको हो। विपक्षमा कुनै मत परेन।
कांग्रेस प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ प्रदेशको नाम बागमतीको प्रस्तावक रहेका थिए भने समर्थकहरुमा नेकपा प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रीना गुरुङ, विवेकशील साझाका रमेश पौड्याल र शोभा शाक्य थिए।




