काठमाडौं । प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले एसपी हुँदा डिएसपी रहेका एक प्रहरी अधिकृतको घटुवा गराइदिएका थिए । अपराधिक समूहसँगको मिलेमतो देखिएपछि खनालले प्रहरी प्रधानकार्यालयमा पत्रचार गरेर घटुवा गराएका हुन । उनले त्यतिबेला नेपाल प्रहरीको चेनअफ कमाण्ड नमान्दाको परिणाम रहेको थियो । अहिले उनी प्रहरी संगठनको प्रमुख रहेका बेला पनि दुई अधिकृतहरुले राजनीतिक शक्तिको आडमा खटाएको ठाउँमा जान मानिरहेका छैनन ।
नेपाल प्रहरीका दुई अधिकृतहरुले विभागले गरेको सरुवालाई नेताहरुको आडमा अटेर गरेको पाइएको छ । प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ल र अर्का अधिकृत प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम शाहीले सरुवा भएको स्थानमा जान अटेर गरेका हुन । उनीहरुले अटेरी गर्दा नेपाल प्रहरीको चेनअफ कमाण्डमै प्रश्न उठेको छ । प्रहरीभित्र आकर्षक जिल्ला र यूनिटको इन्चार्ज कमाण्ड गर्न राजनीतिक नेताहरुलाई प्रयोग गर्ने पूरानो रोगलाई दुई अधिकृतले देखिने गरी प्रयोग गरिरहेका छन् ।
चितवनका प्रहरी प्रमुख प्रहरी रेहका एसपी मल्लको सरूवा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो । उनको सरुवा भएको १४ दिन बितिसक्दासमेत उनले चितवन छोडेका छैनन । उनले चितवन नछाडेपछि प्रदेश प्रहरी कार्यालय हेटौडाले बुधबार साँझ १२ घण्टाभित्र चितवन छाड्न लिलिख निर्देशननै दिनु परेको थियो । सो निर्देशन उनले सामाजिक सञ्चालको ग्रुप च्याटमै राखेका थिए । उनी पूर्वप्रधानमन्त्री एवं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पूर्व सुरक्षा प्रमुख भएको नाताले प्रहरी प्रमुखलाई नै दबाबमा राखरे सरुवा हुन नखोजेको स्रोतको दावी छ । पुस ४ गते उनीसहित २४ जना एसपीको सरूवा भएको थियो । सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन् । उनको स्थानमा इन्टरपोल शाखामा कार्यरत एसपी गंगा पन्तको सरुवा भएको थियो ।
चितवन प्रहरी कार्यालयबाट रवना नबुझेपछि त्यहाँ कार्यरत डिएसपीलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन दिएको थियो । उनी दरवारमार्ग वृत्तको डिएसपी भएकै बेलामा एसपीमा बढुवा भएका थिए । सामान्यतया बढुवा भएपछि तत्कालै जिल्ला वा यूनिट इन्चार्ज दिइदैन तर उनको हकमा भने सो लागु भएन । पूर्व प्रधानमन्त्री दाहालकै गृहजिल्ला चितवनको इन्चार्ज बनाएर पठाइएको थियो । त्यतिबेला पनि उनलाई दाहाल वा दाहालकै सचिवालयको दबाबमा जिल्ला इन्चार्ज दिइएको अन्य प्रहरीले गुनासो गरेका थिए । अर्का प्रहरी अधिकत डिएसपी हेम शाहीले पनि दाहालकै लयमा चेनअफ कमाण्डको उल्लंघन गरेका छन् । बाँकेको कोहपुरमा कार्यरत डिएसपी शाहीले पनि शत्तिकै आडमा कोहलपुर छाड्न तयार देखिएनन । कोहपुरमा स्कुले विद्यार्थीहरुमाथि अनावश्यक बल प्रयोग गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी शाहीलाई गत मंसिरमै जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको थियो । उनको स्थानमा बाँके प्रहरी कार्यालयले डिएसपी शिव सिंहलाई पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट रवाना बुझेर कोहलपुर पुगेका सिंहलाई उनले चार्ज बुझाउन नमानेपछि सिंह फर्के प्रहरी प्रधानकार्यालयमा आएर हाजिर गरिरहेका थिए । हाल शाहीको स्थानमा कुलदीप चन्दलाई खटाइएको छ । शाहीले अझै कोहलपुर छाडेका छैनन । उनी गत दशैमा स्थानीय नेताहरुसँग खसी मागेको विषयमा समेत विवादित बनेपछि सरुवा गर्ने तयारी गरेको थियो तर त्यतिबेला नेकपाका नेताहरुको दबाबमा उनले आफ्नो सरुवा थमौति गर्दै आएका थिए । कोहलपुर प्रहरीले विद्यार्थीमाथि अनावश्यक बल प्रयोग गरी विद्यार्थीलाई गोली समेत चलाएको भन्दै प्रदर्शनकारीले तत्काल डिएसपी शाहीलाई कारबाही र सरूवाको माग गर्दै प्रदर्शन गरेका थिए । कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिई घाइते बनाएपछि विद्यार्थीसहित स्थानीय प्रदर्शनमा उत्रिएका थिए । घटनामा पुगेको प्रहरीले समेत विद्यार्थीमाथि नै हातपात तथा लाठी चार्ज गरेपछि स्थिति तनावग्रस्त भएपछि बाँके प्रहरीले उनको सरुवा गरेको थियो ।




