
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री सोडारीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । उनले आज नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३र३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले नियुक्त गरेका एमालेका सुरेन्द्रबहादुर पालले आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा मुख्यमन्त्री सोडारीले नियुक्त गरेका छन् ।
मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा.तारा जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बेला मन्त्री पद अस्वीकार गरेको छन् । प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाई भूमि व्यवस्था कृषि सहकारी मन्त्रीमा नियुक्त भैसकेका छन् । अहिले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या १० पुगेको छ ।