डडेल्धुरा । जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ बन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टकाअनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षाकर्मीलाई खोप लगाइएको हो ।
कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए । जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए ।
पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।
कम्तीमा पनि छ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भएपनि सात दिनका लागि थप गरिएको छ । डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थिायो ।




