रोल्पा । ऊर्जामन्त्री वर्षमान पुनले नेकपाको नेतृत्व मात्र होइन, सरकारको नेतृत्व लिन पनि युवा पुस्ता तयार रहेको बताएका छन् । पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व छाडेमा आफूहरु लिन तयार रहेको बताएका छन् ।
रोल्पाको लाँकुरीमा निर्मित सबस्टेशन उद्घाटन कार्यक्रममा सोमबार मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताएका हुन् ।
‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ,’ मन्त्री पुनले भने ।
उनले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री पुनले रोल्पा नगरपालिका वडा नम्बर ३ मा ३१र११ केभीको सबस्टेशन उद्घाटन गरेका थिए ।




