रोल्पा । लुंग्री गाउँपालिका वडा–६ स्थित गुम्चाल खोलामा मंगलबार सडिसकेको अवस्थामा शब फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीका अनुसार फेला परेको शव पाटेगुम्चालका ५५ वर्षिय हुमे पुनको पुष्टि भएको छ ।
मानसिक सन्तुलन गुमाएका पुन २०७७ कार्तिक २० गते आफ्नै घरबाट बेपत्ता थिए । गाउँलेहरुका अनुसार उनी अत्यधिक मदिरा सेवन गर्दथे । शव सडिसकेको अवस्थामा फेला परेको हुँदा कपडाबाट उनको सनाखत भएको हो ।
मदिराले मातेर हिडेका बेला भीरको बाटोबाट लडेर पुनको मृत्युभएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले आवश्यक प्रकृयापछि पुनको शव परिवारलाई जिम्मा लगाइसकेको छ ।
घटनाबारे जानकारी भए लगत्तै प्रहरी चौकी गुम्चालबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर सुनारको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा पुगेको थियो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक सहदेव डाँगीको कमाण्डमा अर्को टोली घटनास्थलमा पुगेको जिप्रका रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसीले जानकारी दिए ।




