गण्डकी प्रदेश

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

काठमाडौं । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ । “बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,” नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने , “निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।” यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।

अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने , “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।”

दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण भर्ने गर्छन । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउँछन् । आगो बालेर यहाँका नागरिकले चिसो भगाउने प्रयास गरेका छन् । “घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,” उनले भने , “त्यसैले घरमा आगो तापेर बसेको छु ।”

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् ।

भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा। संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि चिसो बढेको छ ।