पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच भेटघाट भएको छ । भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे ।
उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिन आग्रह गरे । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार विश्व बैंकबाट सहयोग लिन इच्छुक रहेको समेत बताए । उनले भने,‘गण्डकी प्रदेश हाम्रा विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ ।’
भेटघाटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल उपस्थित थिए ।




