काठमाडौं । उपत्यकाका मात्र होइन, विदेशी पर्यटकसमेत रिफ्रेस हुन नगरकोट पुग्छन् । नगरकोट पुग्ने सडकको अवस्था हेर्ने हो भने टिठ लाग्दो छ । यो सडकको दुरवस्था देखेर बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण भडेल चिन्तित छन् । उनले उक्त सडकको आज सोमबार अनुगमन गरे ।
अनुगमनमा मन्त्री भडेलसँग नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, महाधिवेशन प्रतिनिधि राजाराम खड्का र क्षेत्रीय सचिव जनक खत्री, चाँगुनारायण नगरपालिका प्रमुख शिवहरि केसी पनि साथैमा थिए ।

मन्त्री भडेलका स्वकीय सचिव समुन्द्र थापाका अनुसार मन्त्री भडेलले अनुगमनपछि सडकको प्रगति विवरण बुझेका थिए । त्यसपछि नगरकोट बसपार्कमा आयोजना गरिएको कोणसभालाई मन्त्री भडेलले सम्बोधन गरे । मन्त्री भडेलले ‘कमलविनायक–नगरकोट सडक खण्ड कांग्रेसकै पालामा निर्माण सम्पन्न हुने बताए । अब यो सडक निर्माणमा कसैको तागतले रोक्न नसक्ने उनको दाबी थियो ।’
१५ किलोमिटर लामो उक्त सडक निर्माण सात वर्षदेखि अलपत्र छ । सडक निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले २०७१ सालदेखि निर्माण सुरु गरेको हो । यो कम्पनीले ६ पटक म्याद थप्दा पनि काम सम्पन्न गर्न सकेको छैन । सुरुको लागत २७ करोड ९० लाख रुपैयाँ थियो । अहिले लागत बढेर ३४ करोड रुपैयाँ पुगेको छ ।
सडक बनेपछि कांग्रेसको लोकप्रियता बढ्ने डरले विभिन्न अवरोध सिर्जना गर्ने काम भइरहेको बताइएको छ । आफूले प्राथमिकतामा राखेको योजना भएकाले आफ्नो कार्यकालमा जुनसुकै हालतमा पनि सडक निर्माण सम्पन्न गरि कालोपत्रे गर्ने मन्त्री भडेलको भनाइ छ ।
स्वकीय सचिव थापाका अनुसार मन्त्री भडेलले मन्त्री भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । भेटमा उनले अध्यक्ष दाहाललाई शैलुङ कन्स्ट्रक्सन प्रालिका निर्देशक शारदाप्रसाद अधिकारीलाई फोन गर्न लगाएका थिए । उक्त सडक ४५ दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशक अधिकारीले अध्यक्ष प्रचण्डलाई वचन दिएको थिए ।




