काभ्रे । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमालेलाई २०७५ साल जेठ २ गतेकै अबस्थामा फर्काउन नसक्ने घोषणा गरेका छन् ।
काभ्रेमा एमाले जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेलामा महासचिव पोखरेलले २०७५ साल जेठ २ गतेकै अवस्थामा जस्ताको तस्तै पार्टीलाई फर्काउन नसकिने घोषणा गरेका हुन् ।
एमालेभित्र तेस्रो धारमा रहेका भनिने नेताहरुले एमालेलाई पुरानै अबस्थमा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार भएकाले एमालेमा फर्केको बताएका बेला महासचिव पोखरेलले भने माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरुलाई जिम्मेवारीविहिन नबनाउने संकेत गरेका हुन् । उनले भने,‘केही साथीहरुले जस्ताको त्यस्तै भन्नुहुन्छ, त्यो हुँदैन, जेठ २ दोहोरिएर पनि आउँदैन ।’
‘माओवादी केन्द्र र अरु पार्टी सम्बद्ध साथीहरु पनि आउनुभएको छ, हामीले के बुझ्न जरुरी छ भने यो पहिलेको जस्तै एमाले हैन, विकसित एमाले हो, जेठ २ गतेलाई आधारभूत रुपमा हेक्का राखेर एकता र एकीकरणको कुरालाई पनि बिर्सिनु हुँदैन ।’ उनले भने ।
माओवादीबाट आएका नेताहरुले सांसद पद समेत त्यागेर एकताको पक्षमा उभिएको भन्दै उनले माओवादीबाट आएकालाई कमजोर बनाउने, हतोत्साही बनाउने कुरा गर्न नहुने समेत बताए ।
एमालेभित्र तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समुहमा रहेका १० जना स्थायी कमिटि सदस्यहरु एमाले २०७५ सल जेठ २ गतेको अबस्थामा फर्काउन अध्यक्ष ओली तयार रहेको भन्दै एमालेमै रहने निर्णय गरेका थिए । तर प्रवक्ता योगेश भट्टराईको पद भने खोसिएको छ ।




