बागमती प्रदेश

हेटौँडाका निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार गर्ने तयारी

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैय्या र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शैय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो ।

जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै निजी क्षेत्रबाट सञ्चालित अस्पताललाई तत्कालका लागि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

हाल हेटौँडा अस्पतालमा कोभिड–१९ का बिरामीको उपचार हुँदै आएको छ । हेटौँडा अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले उपचारका लागि शैय्या अभाव हुन सक्ने भएकाले आवश्यकता महशुस गरी निजी अस्पतालमा समेत कोभिडका बिरामी उपचार गर्ने गरी व्यवस्था मिलाइएको हो ।

मकवानपुर जिल्ला अन्तर्गत हेटौँडा उपमहानगरपालिकामा गौरीटार आइसोलेसनमा अक्सिजन र मेडिकल टोलीसहित १२० शय्या रहेको छ । यसैगरी जिल्लाका सबै पालिकामा न्यूनतम् १० देखि अधिकतम २५ शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा १० पालिका रहेका छन् । मकवानपुरका दशवटै स्थानीय तहको पहलमा कोभिड­१९ भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने तयारी गरिएको छ ।

मकवानपुरको कोभिड सङ्क्रमित तथा मृत्य र सङ्क्रमण मुक्त भएको तथ्याङ्कबारे सूचना एकद्धार प्रणालीमा दिनलाई आवश्यक समन्वय गर्न सबै निकायमा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको जनाएको छ ।

हेटौंडा अस्पतालका डा श्रेष्ठद्वारा राजीनामा

वाग्मती प्रदेश सरकारको स्वामित्वमा रहेको हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट(मेसु) डा प्रवीण श्रेष्ठले आफ्नो पदमा राजीनामा दिएका छन् । आफूलाई आफ्नो पदीय जिम्मेवारी अनुसार काम गर्न असहज भएको भन्दै उहाँले वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेललाई राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्रालयका सचिव ढुङ्गेलले हेटौंडा अस्पतालका मेसु श्रेष्ठको राजीनामा दिनुभएको पुष्टि गरे । मेसु श्रेष्ठको नियुक्ति सङ्घीय सरकारबाट भएकाले उहाँको राजीनामालाई सङ्घीय स्वास्थ्य मन्त्रालयमा पठाइएको जानकारी दिए ।

विगतमा सङ्घीय सरकारअन्तर्गत रहेको हेटौंडा अस्पताललाई सङ्घले वाग्मती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समयअघि हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।

मेसु श्रेष्ठले हेटौँडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठान अन्तर्गतको अस्पताल विकास समितिको खातामा जम्मा गर्न नसक्ने भन्दै राजीनामा दिएको बताएका छन् । उनले आफूलाई काम गर्न जोखिम बढ्ने भएकाले मेसु पदबाट राजीनामा दिएको दाबी गरे । प्रतिष्ठानले आफूलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न र अस्पतालको लोगो परिवर्तन गर्न भनेपछि आफूले त्यसो गर्न नसक्ने भएकाले मेसुको जिम्मेवारीबाट राजीनामा दिनुपरेको उनको भनाइ छ ।

यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उनको भनाइ छ । प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफूले सो रकम झिक्न नमिल्ने बताएको डा श्रेष्ठले जानकारी दिए । अहिले अस्पताल विकास समितिको खातामा करीब एक करोड रुपैयाँ छ भने स्वास्थ्य बिमा बोर्डबाट साढे चार करोड रुपैयाँ आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *