शिक्षा / स्वास्थ्य

अस्थायी परिवार नियोजन शिविर

मकवानपुर । दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।

अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको बताइएको छ । सन्तानको रहर पुगेका महिलाले गाउँमा आएको शिविरमा पुगेर अस्थायी परिवार नियोजन सेवा लिएको अध्यक्ष मोक्तानले बताउनुभयो । साथै शिविरमा पुरुष बन्ध्याकरण सेवासमेत प्रदान गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विभिन्न पाँच वडामा छुट्टाछुट्टै पाँचदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जाँच गराउन र स्वास्थ्य सेवा दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ३ सय ८० ज्येष्ठ नागरिकले स्वास्थ्यसेवा लिएको र अर्थावस्था कमजोर भएकालाई न्यानो कपडाको रूपमा ८ सय ८० फाइबरको सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवमा त्यहाँका ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क बेहोर्ने गरी गाउँसभाबाट पारित गरिसकेको जानकारी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *