वीरगञ्ज (पर्सा) । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत जिल्ला सुरक्षा समिति पर्साले जिल्लाका १६७ मतदानस्थलमध्ये ६० स्थानको अनुगमन गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालयलगायतको संयुक्त टोलीले मतदानस्थल तथा केन्द्रहरूको निरीक्षण गर्दै सम्भावित सुरक्षा जोखिमको मूल्याङ्कन र आवश्यक पूर्वतयारी गरिरहेको छ।
प्रजिअ दाहालका अनुसार हालसम्म निरीक्षण गरिएका मतदानस्थलका आधारमा आवश्यक सुरक्षा रणनीति निर्माण भइरहेको छ। “दैनिक रूपमा मतदानस्थलको अनुगमन गरी देखिएका सुरक्षा चुनौती समाधानका लागि थप रणनीति बनाउने काम भइरहेको छ,” उनले बताए।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे। साथै उम्मेदवार, आम नागरिक र सञ्चारकर्मीलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।
जिल्लामा १०७ किलोमिटर खुला सीमा नाका रहेकाले निर्वाचन अवधिमा सुरक्षा व्यवस्था थप कडाइका साथ व्यवस्थापन गरिने प्रजिअ दाहालले बताए। पर्साका प्रहरी प्रमुख सुदीप राज पाठकले पनि निर्वाचन सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले मतदाता शिक्षासम्बन्धी प्रचारात्मक कार्यक्रम सञ्चालन गरिने बताइन्। उनले निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाउने स्पष्ट पारिन्।
जिल्लाभरका १६७ मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, ८५ संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ। क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल रहेका छन्।
पर्सामा कुल ४४१ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र छन्। जिल्लामा चार निर्वाचन क्षेत्र रहेका छन्। मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ रहेकोमा एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष र १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्।




