देश

मिथिलाञ्चलमा माघे सङ्क्रान्ति पर्वको भव्य तयारी, लोक परिकार र रीतिरिवाजमा व्यस्तता

जलेश्वर (महोत्तरी)। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे सङ्क्रान्ति (तिला सङ्क्रान्ति) पर्वको भव्य तयारी भइरहेको छ। मिथिलाका घरघरमा चिउरा, भूजा र तिलसहित सख्खर हालेर लड्डु बनाउने प्रचलन छ भने खिचडी, घीउ र तरकारी मिसाएर परिकार तयार गर्ने चलन पनि छ।

यस पर्वका लागि मिथिलाञ्चलका बजार र हाट–बजारमा भीडभाड बढेको छ। जलेश्वर–८ की राजवती देवीका अनुसार घरघरमा ८–१० दिन पहिलेदेखि तिल, चिउरा, भूजा र सख्खर जुटाइ तयारी गरिन्छ।

सङ्क्रान्तिका दिन घरका पाका सदस्य बिहान उठेर नुहाइधुवाई गरी चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाउँछन् र कूल देवतालाई अर्पण गर्छन्। त्यसपछि सो प्रसाद परिवारका सबै सदस्यलाई वितरण गरिन्छ, जसलाई ‘हमर तिल बहवे’ अर्थात् “मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौँ” भन्ने विश्वाससहित ग्रहण गरिन्छ।

संस्कृतिविद् ध्रुव रायका अनुसार यस कर्मले मिथिलाको संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै जीवन्त राख्न सहयोग गर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *