काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले मधेशमा हाल शितलहरका कारण दलित समुदाय विशेषगरी जोखिममा रहेको बताएका छन्। राष्ट्रिय दलित आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो अवस्था प्रति चिन्ता व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवले प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा पर्ने बताए। यसप्रति आयोगले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्। आयोगले सक्ने सहयोग गर्नुपर्छ भने, नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनु आवश्यक रहेको उनको भनाइ छ।
तराई–मधेशका दलितहरू अझै शिक्षा, स्वास्थ्य, आर्थिक र राजनीतिक पहुँचको सीमाभन्दा बाहिर रहेका छन्। यसलाई मूलधारमा ल्याउन आयोगले सक्रिय भूमिका खेल्नुपर्ने उपराष्ट्रपतिले बताए। स्वास्थ्य बीमा र अन्य सामाजिक कार्यक्रमहरूमा आर्थिक अभाव तथा जनचेतनाको कमीका कारण धेरैजसो दलित लाभ लिन नसकेको उनले उल्लेख गरे।
उनले जागरुकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने सुझाव दिए। साथै, दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू विपन्न क्षेत्र र बस्तीहरूमा सञ्चालन गर्न आयोगले पहल गर्नुपर्ने बताए।
उपराष्ट्रपतिले समाजमा अझै रहेका कुरीति, भेदभाव र छुवाछुत हटाउने चुनौतीलाई पनि औँल्याए। दलित समुदायभित्रै पनि विभेदको अवस्था रहेको भन्दै यसलाई हटाउन आयोग अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
साथै, आयोगले तयार पारेको रणनीतिक योजना (२०८२–८७) र उजुरी व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्।




