काठमाडौं । सातदलीय गठबन्धनको समर्थनसहित मधेश प्रदेशमा सत्ता–परिवर्तन भएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सोमबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
यादवले आगामी मंसिर २४ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। उनी मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मधेशको नयाँ नेतृत्वका रूपमा मनोनयन भएका थिए। उनलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा तथा पूर्व–एकीकृत समाजवादीका सांसदहरूले साथ दिएका छन्।
यसअघि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बनेका थिए। संविधानको धारा १६८(३) अनुसार कार्तिक २३ गते राति नियुक्त भएका यादवविरुद्ध सातदलीय गठबन्धन सर्वोच्च अदालत पुगेपछि राजनीतिक तरंग सिर्जना भएको थियो। अदालतले २४ घण्टाभित्र विश्वासको मत लिने वा धारा १६८(२) अनुसार अर्को सरकार गठनको प्रक्रिया अघि बढाउने आदेश दिएको थियो।
विश्वासको मत नपाउने स्थिति स्पष्ट भएपछि सरोजकुमार यादवले प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिए, त्यसपछि गठबन्धनले कांग्रेसका यादवलाई नयाँ नेतृत्वका रूपमा अघि सारेको हो। नवनियुक्त मुख्यमन्त्री यादवले शपथसँगै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरेका छन्।




