काठमाडौं । मधेश प्रदेशमा राजनीतिक समीकरण उल्टिएपछि मुख्यमन्त्री सरोजकुमार यादव पदबाट बाहिरिने तयारीमा देखिएका छन्। विश्वासको मत नपाउने स्थिति प्रष्ट भएपछि उनले प्रदेश सभामा आफ्नो धारणा राखेर राजीनामा दिन अन्तिम तयारी थालेका स्रोतहरू बताउँछन्।
आज बिहान ८ः३० बजेका लागि बोलाइएको विश्वासको मत सम्बन्धी प्रदेश सभा बैठक मुख्यमन्त्री स्वयं उपस्थित नहुँदा अघि बढ्न सकेन। बैठक दोहोरिँदो अव्यवस्थापछि अन्ततः दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुपर्यो।
१०७ सदस्यीय प्रदेश सभामा सरकारलाई टिकाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। तर एमाले–नेतृत्वको सरकारसँग ठोस संख्या छैन। एमालेका २५ (एक सांसद निलम्बित)नेपाल संघीय समाजवादी ः १ राप्रपा ः१ सांसद रहेका छन् । राप्रपाकी मन्त्री कञ्चन बिच्छाको सांसद पदसमेत खारेज प्रक्रिया अघि बढिरहेको अवस्थामा समर्थन झन् अपुग बनेको छ। सात दलीय गठबन्धन अहिले एक ठाउँमा उभिएको छ। गठबन्धनसँग ७३ मत छ— कांग्रेस : २२, जसपा नेपाल :१८, जनमत पार्टी : १३
माओवादी केन्द्र : ९, लोसपा : ८, एकीकृत समाजवादी :७,नागरिक उन्मुक्ति पार्टी १ यो अंकगणितले स्पष्ट देखाउँछ—यादवका लागि विश्वासको मतको ढोका बन्द भइसकेको छ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
पछिल्लो राजनीतिक विवादपछि सर्वोच्च अदालतले मंसिर १५ मा मुख्यमन्त्री यादवलाई ‘२४ घण्टाभित्र विश्वासको मत लिन’ आदेश जारी गरेको थियो। सोही आदेश पालना गर्न आजको बैठक बोलाइएको हो। तर बैठक सुरु नै नहुने अवस्थाले सरकार नै अस्थिर भएको संकेत दिएको छ। यादवको मुख्यमन्त्री नियुक्ति पनि विवादास्पद थियो। अस्वस्थताको कारण देखाउँदै काठमाडौं जाने बताएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासस्थित होटलमा बिहानै झिसमिसेमा यादवलाई शपथ गराएको विषयले ठूलो राजनीतिक हलचल ल्याएको थियो। त्यसपछि नै विपक्षी दलहरू अदालत धाएका थिए।
विश्वासको मत नपाइने प्रष्ट भएपछि अब उनको ‘राजनीतिक निकास’ केवल राजीनामा नै देखिएको छ। उनी आजको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेपछि राजीनामा घोषणा गर्ने तयारीमा छन् भन्ने चहलपहल मन्त्रालय र दलहरूमा स्पष्ट देखिन थालेको छ। अब दिउँसो २ बजेको बैठकले मधेश प्रदेशको सत्ता समीकरण कता मोडिन्छ—यो निर्णायक घडी बन्नेछ।




