देश

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्नातक उत्तीर्ण गरी बेरोजगार रहेका युवालाई मासिक दुई हजार रूपैयाँ भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन्।

प्रथम मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण तर कुनै रोजगारीमा नलागेका युवालाई जीवन निर्वाहका लागि मासिक भत्ता उपलब्ध गराइने बताए। उनका अनुसार प्रदेशमा करिब एक लाख ५० हजार बेरोजगार स्नातक युवा छन्।

युवाका लागि भत्ता कार्यक्रम सञ्चालन गर्न करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले खडेरी र डुबानका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा १,५०० रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। किसान राहतका लागि करिब ३६ करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारको अनुमान छ।

यस वर्ष दीर्घ खडेरीले प्रभावित मधेसका किसान असोजमा परेको अविरल वर्षाका कारण पुनः डुबानमा परेका थिए। मनसुन अवधिभर खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *