काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच भएको झडपले शैक्षिक गतिविधि पूर्ण रूपमा प्रभावित बनाएको छ। झडप र तनावपछि सिमरा तथा आसपासका सामुदायिक र निजी विद्यालयहरूले बिहीबार पठनपाठन बन्द गरेको घोषणा गरेका छन्।
सिमरा विमानस्थल क्षेत्र नजिकै भइरहेको विरोध कार्यक्रमलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा धेरै विद्यार्थी प्रभावित भएको सिमरा पब्लिक स्कुलका प्रिन्सिपल बसन्त ढकालले जानकारी दिए। उनका अनुसार केही विद्यार्थी बेहोस समेत भएका थिए, जसले विद्यालय प्रशासनलाई तत्काल पठनपाठन रोक्दै उनीहरूलाई सुरक्षित रूपमा घर पठाउन बाध्य बनायो।
ढकालले बताए, “अश्रुग्यास प्रहारपछि विद्यार्थी रोइरहेका थिए, डराइरहेका थिए। यस्तो अवस्थामा विद्यालय खोलिराख्नु सम्भव थिएन।”
झडप बढ्दै गएपछि स्थानीय प्रशासनले दिउँसो कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु लागू भएपछि विद्यालयले अचानक कक्षाहरू बन्द गरी अभिभावकसँग समन्वय गर्दै विद्यार्थी घर पठाउन निकै कठिनाइ भोगेको विद्यालयहरूले उल्लेख गरेका छन्।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन ९एनप्याब्सन० का केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले विद्यार्थीहरूको सुरक्षा सुनिश्चित नभएसम्म विद्यालय सञ्चालन हुन नसक्ने बताए। उनले भने, “आन्दोलन चर्किएको बेला विद्यार्थीलाई ल्याएर जोखिम मोल्न सकिँदैन। भोलि केही भयो भने जिम्मेवारी कसले लिनेरु”
उता, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा अवरोध पुर्याएको आरोप लागेका एमालेका दुई कार्यकर्ता—वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारी—लाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराए।
स्थानीय तनाव, कर्फ्यु र सुरक्षाको असहज अवस्थाले सिमरा क्षेत्रमा शैक्षिक गतिविधि कहिलेसम्म स्थगित रहने हो भन्ने अन्योल थपिएको छ।




