धनुषा। जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबारदेखि नगरदर्शनसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरू हुँदैछ।
जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइदेखि पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका गल्ली तथा मठमन्दिरहरूमा विद्युत् बत्ती जडानको काम भइरहेको छ।
मुख्य कार्यक्रम जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमा केन्द्रित रहनेछन्। तर यस वर्ष कुनै तहको सरकारी सहयोग नपाएको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। विगतमा सरकारले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरे पनि यसपटक सहयोग नपाएको उनको भनाइ छ।
अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणी ठूलो सङ्ख्यामा आउने जनकपुरस्थित जानकी मन्दिरले जनाएको छ। जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गराउने प्रमुख माध्यम मानिन्छ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० गते रामकलेवा विधिसहित महोत्सव समापन हुनेछ। प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने यस पर्वमा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन आउने गर्छन्।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो भीडलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त सङ्ख्यामा परिचालन गर्ने जानकारी उनले दिए।




