देश

उपसभामुखले सभा बोलाएपछि मधेश भवनमा कडा सुरक्षा

जनकपुरधाम । उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेशसभाको बैठकलाई लक्षित सम्भावित सुरक्षा चुनौतीका कारण मधेश भवन वरपर उच्च सतर्कता अपनाइएको छ। सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउन उपसभामुखले दिउँसो १ बजे बैठक आह्वान गरेकी हुन्।

बैठक सञ्चालनको अन्तिम तयारी भइरहेका बेला मधेश भवनको बाहिर प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। इन्स्पेक्टर विक्रम साहको कमाण्डमा हतियारधारी सुरक्षाकर्मी बाहिर तैनाथ छन् भने भवनभित्र मर्यादापालकको सुरक्षा व्यवस्था कडा पारिएको छ।

झण्डै दुई सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै स्थिर भएको छैन। यहाँ एमाले एकातिर उभिएको छ भने अन्य सबै दल अर्को मोर्चामा छन्। प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारले प्रदेश प्रमुखमा गरेको परिवर्तन, र मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाले राजनीतिक अवस्था थप तातिएको हो।

सभामुखलाई पदमुक्त गर्न ७ राजनीतिक दलहरूले दर्ता गराएको अविश्वास प्रस्ताव अझै कायमै छ। हिजो विपक्षी दलका २५ प्रतिशत सांसदले हस्ताक्षर गरेर उक्त प्रस्तावमाथि छलफल गर्न सदन बोलाउन औपचारिक आग्रह गरेका थिए।

यसैबीच, सर्वोच्च अदालतले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ।

सभामुख मण्डलले भने बैठक आह्वान गर्ने अधिकार सचिवसहितको प्रक्रियाले निर्धारण गर्ने बताउँदै उपसभामुखले विधि मिचेको आरोप लगाएका छन्। अर्कातिर, एमाले शक्ति प्रदर्शनसहित सडकमा उत्रिएको छ भने ७ दल पनि आन्दोलित स्थितिमा रहेकाले मुठभेडको सम्भावना बढेको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *