देश

सर्लाहीमा उखु किसान–उद्योग विवाद समाधान, बक्यौता भुक्तानी एक महिनाभित्र हुने

काठमाडौं। सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखु बिक्रीको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योगीबीच चार बुँदे सहमति भएको छ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको मध्यस्थतामा आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि दुवै पक्षले सहमति गरेका हुन्।

सहमति अनुसार उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा प्रदूषण नियन्त्रणका लागि आवश्यक उपाय अपनाउने प्रतिबद्धता जनाएको छ। साथै, गत वर्षको चिनी मूल्य निर्धारणपछि किसानलाई बाँकी रहेको रकम पूर्णरूपमा भुक्तानी गरिने सहमति पनि भएको प्रशासनले जनाएको छ।

पूर्व सञ्चालक राकेश कुमार अग्रवालले किसानलाई बाँकी रकम एक महिनाभित्र तिर्ने र उद्योग सञ्चालन सहज बनाउन दुवै पक्षले सहयोगी वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

किसानहरूले गत आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना दिएका थिए। सहमतिपछि धर्ना तुरुन्तै हटाइएको छ।

किसानहरूको भनाइअनुसार, २०७१ र ०७२ को क्रसिङ सिजनदेखि बिक्री गरिएको उखुको पैसा आजसम्म भुक्तानी भएको छैन। उद्योगले बारम्बार आश्वासन दिए पनि करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको बक्यौता रकम किसानले पाउन बाँकी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *