जनकपुर ।नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिएका छन्।
बैठकमा सहभागी प्रदेश सांसद अन्जना पण्डितका अनुसार, समर्थन फिर्ता लिने मात्र नभई नयाँ सरकार गठनको प्रयास सुरु गर्ने निर्णय समेत भएको छ।
गत भदौ २४ गते जनमत पार्टीको आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए। तर पछि आफ्नो अडान परिवर्तन गरी सदनमा विश्वासको मत सामना गर्ने तयारी थालेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको पत्र भदौ ३१ गते प्रदेशसभामा बुझाइसकेको थियो।
यद्यपि सिंहले सदनमै जाने अडान दोहोर्याएपछि कांग्रेसले हालसम्म समर्थन कायमै राखेको थियो। यसबीच एमालेले भने मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिनेसम्मको संकेत गरिसकेको छ।
“कांग्रेसले जनमतको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेको थियो। तर जब जनमतले नै समर्थन फिर्ता गरिसकेपछि कुनै व्यक्तिलाई मात्र समर्थन दिइरहनु औचित्यपूर्ण छैन,” दलका नेता यादवले स्पष्ट पारे।




