जनकपुरधाम। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त कार्यालयहरू मर्मतपछि बडादसैँ सकिएलगत्तै पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन्।
आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री सिंहले आन्दोलनका क्रममा सरकारी निकायको भौतिक संरचनामा व्यापक क्षति पुगेकाले मर्मत तथा सुधारका लागि अझै केही दिन लाग्ने जानकारी दिए। उनका अनुसार सुरक्षामा क्रमिक सुधारसँगै मन्त्रालय र कार्यालयहरूमा कर्मचारीहरूको उपस्थिति सुरु भइसकेको छ, तर संरचनागत अभावका कारण तत्काल पूर्ण रूपमा काम गर्न कठिनाइ भइरहेको छ।
क्षति मूल्याङ्कनका लागि पाँच सदस्यीय समिति गठन गरिएको र त्यसको प्रतिवेदनअनुसार मर्मत कार्य अघि बढाइने सिंहले बताए। जेनजी प्रदर्शनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास, ऊर्जा तथा सिँचाइ, श्रम तथा यातायात लगायतका मन्त्रालय र कार्यालयमा तोडफोड, आगजनी, सवारीसाधन क्षति र लुटपाटसम्म भएको छ।




