सिरहा। प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवाको चाप अत्यधिक बढेको छ । अस्पतालले तीन वर्षदेखि सेवा सञ्चालन गरिरहेको भए पनि हाल १० उपकरणमार्फत दैनिक १० जना मात्र बिरामीलाई उपचार दिइँदै आएको छ ।
अस्पताल प्रमुख डा. सुनिलप्रसाद कुशवाहाका अनुसार दैनिक कम्तीमा २० जना बिरामी पालो पर्खिनुपर्ने बाध्यता छ । मिर्गौला प्रत्यारोपण सम्भव नभएको अवस्थामा डायलाइसिस नै अस्थायी विकल्प भएकाले माग बढेको उहाँको भनाइ छ । उहाँले कतिपय अवस्थामा उपचाररत बिरामीको मृत्यु भएपछि मात्र नयाँ बिरामीलाई पालो मिल्ने अवस्था आउने बताए ।
अस्पतालले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । निजी क्षेत्र वा बाहिर एक सत्र डायलाइसिस गर्न सात हजार रुपैयाँसम्म लाग्ने भएकाले सिरहा अस्पताल आर्थिक रूपमा कमजोर बिरामीका लागि भरोसाको केन्द्र बनेको छ ।
यद्यपि अस्पतालमा ९८ प्रकारका औषधि, रगत र पर्याप्त उपकरण अभाव रहेको छ । प्रदेश सरकारले करोडौँ मूल्यका उपकरण उपलब्ध गराए पनि अझै थप उपकरण, जनशक्ति र औषधि आपूर्ति आवश्यक रहेको अस्पताल प्रशासनले जनाएको छ ।




