सिरहा। सिरहा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सेवाग्राही र स्थानीयवासीलाई दैनिक अप्ठ्यारो झेल्नुपरेको छ । खुला दिसामुक्त जिल्ला घोषणा गरिएको वर्षौं बितिसक्दासमेत प्रमुख प्रशासनिक केन्द्रमा एउटा पनि सार्वजनिक शौचालय निर्माण नभएकोप्रति नागरिक आक्रोशित छन् ।
जिल्ला प्रशासन, अदालत, प्रहरी, मालपोत, नापीलगायत प्रमुख सरकारी कार्यालय रहेको सदरमुकाममा टाढा–टाढाबाट सेवा लिन आउने नागरिकलाई शौचालयको अभावमा समस्या हुने गरेको छ । महिलाहरूको पीडा अझ गम्भीर रहेको स्थानीयहरू बताउँछन् ।
वडासदस्य शम्भु साहले पटक–पटक शौचालय माग गरे पनि नगर प्रमुखसहित पदाधिकारीहरूले वास्ता नगरेको गुनासो गर्नुभयो । स्थानीय व्यवसायी र युवाहरूले नगरको स्वच्छता, सुन्दरता र मानव मर्यादा कायम राख्न शौचालय निर्माण अपरिहार्य रहेको भन्दै तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
सिरहा–२२ का वडाध्यक्ष जिवछनारायण यादवले यो अवस्था नगरपालिकाका लागि लाजमर्दो भएको उल्लेख गर्दै आगामी नगरसभा बैठकमा बजेट विनियोजन गरेर निर्माण प्रक्रिया अघि बढाउने बताए ।
नगर प्रमुख डा. नवीनकुमार यादवले शौचालय निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै सहरी विकास तथा स्वच्छता अभियान अन्तर्गत विभिन्न स्थानमा दीर्घकालीन रूपमा शौचालय निर्माण गरिने योजना रहेको बताए । उहाँले दिगो व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गरिने बताए ।




