देश

महोत्तरीमा ‘हाम्रो माया घर’ निर्माणले लियो गति

महोत्तरी। महोत्तरीको बर्दिवास–२ हङकङडाँडामा निर्माणाधीन ‘हाम्रो माया घर’ को कामले गति लिएको छ। यसको निर्माण सम्पन्न भएसँगै अशक्त र बेसहाराहरूले आश्रय पाउने अपेक्षा गरिएको छ। नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै सुरु भएको यस परियोजनाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।

हाम्रो मायाघर निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार यहाँ १० करोड ६९ लाख रुपैयाँको लागतमा दुईवटा भवन निर्माणको काम अघि बढेको छ। उनले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

पहिलो भवन निर्माणको काम गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट प्राप्त रकमबाट थालिएको हो। सो महायज्ञबाट दुई करोड रुपैयाँ सङ्कलन भएको थियो। त्यसयता विभिन्न दाताबाट जुटेको सहयोगले निर्माण कार्य निरन्तर अघि बढेको अध्यक्ष भट्टराईले जानकारी दिए।

केही दिनअघि बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले २५ लाख रुपैयाँ सहयोगको घोषणा गरे। यस्तै, ॐ समाज डेण्टल अस्पताल, बर्दिवासका सञ्चालक डा. सुवास घिमिरेले सात लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्। पहिलो भवन निर्माण सम्पन्न गरेर प्रयोगमा ल्याएपछि अर्को भवन निर्माण सुरु गरिने अध्यक्ष भट्टराईले बताए।

हाम्रो मायाघर बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार यो भवन असहाय बालबालिका, सडक मानव, अशक्त र बेसहाराका लागि आश्रयस्थल बन्नेछ। ‘हाम्रो माया घर’ निर्माणका लागि पाँच कठ्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ। दाताहरू भेटिएपछि अर्को भवन निर्माण कार्य अघि बढ्ने उनको भनाइ छ।

यहाँ निर्मित ‘हाम्रो माया घर’ मा मधेसका जुनसुकै ठाउँमा भेटिने सडक मानव, असहाय बालबालिका, अशक्त, बेसहारा एवं परिवारबाट हेपिएका वा त्यागिएका वृद्धवृद्धालाई खानपान, बास, उपचार र लत्ताकपडासहित बन्दोबस्त गरेर राखिने गौतमले बताए। ‘हाम्रो माया घर’ मा दुई सय जना बेसहारालाई मानवोचित व्यवस्थापनसहितको आश्रय दिने लक्ष्य छ। दुवै भवन बालबालिका र अपाङ्गमैत्री हुनेछन् भने यहाँ ल्याइने बालबालिकालाई खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासँग तत्काल जोडिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *