
महोत्तरी । नयाँ वर्ष २०८२ को आगमन नजिकिँदै गर्दा मधेश प्रदेशका जिल्लाहरूमा ‘जुडशीतल’ पर्वको रौनक छाएको छ। महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा यसको तयारीका लागि आवश्यक सामग्री जुटाउन थालिएको छ। विक्रम संवत्को नयाँ वर्षको सुरुवातसँगै मनाइने यो मैथिल परम्परामा विभिन्न परिकार खाने, खुवाउने र हिलोधुलो खेलेर रमाइलो गर्ने चलन छ। यो पर्व आगामी सोमबार र मंगलबार मनाइँदैछ।
मिथिलामा वैशाख संक्रान्तिको दिन र त्यसको भोलिपल्ट दुई दिन ‘जुडशीतल’ पर्व मनाइन्छ। संक्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ। पहिलो दिन ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै रूपमा लिइन्छ। पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सात प्रकारका खाद्यान्नको सातु र माटोको भाँडोमा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाइन्छ। त्यसपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान दिइन्छ। गर्मी मौसममा शीतलता प्रदान गर्ने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन्। पहिलो दिन सातु र सर्वत दान गरेर यिनै परिकार खाने विधिलाई मिथिलामा ‘सतुवाइन’ भनिन्छ।
त्यसैगरी, दोस्रो दिन (वैशाख २ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा पानी सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। गर्मी मौसममा मनाइने यो पर्वमा दहीको प्रयोगलाई प्राथमिकता दिइन्छ। यसैगरी, गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पीठोबाट बनेको ‘बरी’ पकाएर ‘कढी–बरी’ (बरीलाई दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरकारीहरू यस पर्वका खास परिकार मानिन्छन्। मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि एक हो। यो पर्वमा तयार पारिएका सबै खाद्य परिकार इष्टदेवता (कुलदेवता) लाई चढाउने परम्परा छ।
पर्व नजिकिँदै गर्दा मिथिलानीहरू आफ्नो घरआँगन सरसफाइ र लिपपोतमा व्यस्त छन्। गोसाइँघर (कुलदेवता राखिने घर वा कोठा) को सरसफाइ र लिपपोत पर्वको विशेष तयारीभित्र पर्छ। यसैगरी पर्वका लागि आवश्यक खाद्य सामग्री जुटाउने कार्यमा स्थानीयको व्यस्तता बढेको छ। नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णवले बताए।
सहकाल (सन्तुलित वर्षा) को प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल समुदायका मानिसहरू दोस्रो दिन आपसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन्। किशोर र युवाहरूका लागि यो पर्व विशेष आकर्षणको केन्द्र बन्दै आएको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) मटिहानी–७ का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ। नयाँ वर्षको सुरुवातमा हिलोधुलो खेल्न पाए वर्षभरि कृषि कार्यमा कुनै बाधा नहुने जनविश्वास रहेको छ।
‘जुडशीतल’ पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। धुलो र हिलो माटो छ्यापाछ्याप गर्नु पनि कृषि कार्यमा कहिल्यै प्रतिकूलता नहोस् भन्ने कामना रहेको भङ्गाहा–३ का ८५ वर्षीय तेजनारायण सिंह थारूले बताए। मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्व आपसी सद्भाव, हेलमेल र सहकार्यको प्रतीक रहेको उनको भनाइ छ।