काठमाडौं । केही समयअघि मनसुन सक्रिय भएपछि नेपालका विभिन्न क्षेत्रमा ठूलो असर पुगेको थियो । पुनः मनसुन सक्रिय भएसँगै लगातार परेको वर्षाका कारण देशभरी विभिन्न क्षेति भएको छ भने प्राय सबै प्रदेशमा सामान्यदेखी गम्भिर रुपमा सडकमा वर्षाको असर देखिएको छ । वर्षाका कारण विभिन्न प्रदेशका सडकखण्ड अवरुद्ध हुन पुगेका छन् । मंगलबार बिहान नेपाल प्रहरीले सार्वजनिक गरेको बुलेटिन अनुसार अविरल वर्षाले बाढी, पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध हुन पुगेका छन् ।
कोशी प्रदेश : संखुवासभामा बाढीले मकाउ गाउँपालिका–३ मा पर्ने उत्तर दक्षिण कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । असार ६ गते उक्त राजमार्गमा बाढीले क्षति पुर्याएपछि बाटो खुल्न सकेको छैन । उक्त सडक वर्षाभरि सञ्चालनमा आउने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । सुनसरी धनसारेमा पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ ।
मधेश प्रदेशको महोत्तरीमा बाढीले पूर्वपश्चिम राजमार्ग एकतर्फी भएको छ भने आज सडकमा क्षति पु¥याउँदा बर्दिबास नगरपालिका–५, माईस्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।
बागमती प्रदेशमा बाढीले क्षति पुर्याउँदा दोलखाको चरिकोट सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । साउन १३ गते कालिञ्चोक गाउँपालिका–४, झामार्सीमा पर्ने उक्त सडकमा क्षति पु¥याएको थियो । उक्त सडक खुल्न एक महिना लाग्ने अनुमान गरिएको छ । वर्षाका कारण मकवानपुर भिमफेदीमा पहिरो जाँदा कान्तिलोकपथ एकतर्फी सञ्चालनमा आएको छ । भिमफेदी गाउँपालिका–८, कालोपहिरो साउन १३ गते र महादेवटारमा साउन १९ गते गएको पहिरोले सडक आवागमन प्रभावित बनेको हो ।
गण्डकी प्रदेशका विभिन्न ठाउँमा पहिरो खस्दा कालीगण्डकी करिडोरदेखि अन्य सडक अवरुद्ध बन्न पुगेको छ । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरमा आज गएको पहिरोले बेनी–दरबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । सोमबारदेखिको वर्षाले म्याग्दीकै रघुगंगा गाउँपालिका १ र २ वडामा आज पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पनि पूर्ण रुपमा बन्द भएको छ । बागलुङको डब्ल्याङमा पहिरो जाँदा कालगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१०, डब्ल्याङमा खसेको पहिरोले करिडोर पूर्ण रुपमा बन्द भएको हो ।
लुम्बिनी प्रदेश प्युठानमा पहिरो जाँदा असार १७ गतेदेखि स्याउलीवाबाग्दुला सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सडक पनि बर्खाभरि नखुल्ने भएको छ । दाङको घोराही तुल्सीपुर सडकखण्डमा पर्ने सेवारखोलामा बाढीले क्ष्ति पुर्याउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । घोराही उपमहानगरपालिका–१६ मा पर्ने उक्त खोलाले सडकमा सोमबार क्षति पुर्याएको थियो ।
कर्णालीको रुकुमपश्चिममा पहिरो खस्दा आठबीस नगरपालिकामा पर्ने भेरी करिडोर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार आठबीस–११, खरखरेमा खसेको पहिरोले करिडोर अवरुद्ध भएको हो ।





