काठमाडौं । एमालेले मधेस प्रदेशका आठ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।
प्राकृतिक प्रकोप सुख्खा क्षेत्र घोषणा, लम्पी स्किन रोगको उपचार, बाढीको जोखिम परेका नागरिकको जीवनरक्षालगायत विषयका माग राख्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण पत्रमा मधेश प्रदेशमा खडेरी परेकाले सुख्खा क्षेत्र घोषणा गर्न, लम्पी स्किन रोगलाई पशुमहामारी घोषणा गरी क्षतिपुर्ति र उपचारको व्यवस्था गर्न, बाढीको जोखिम भएकाले रोकथाम र राहतको व्यवस्थापन मिलाउन, आँखा पाक्ने रोग नियन्त्रण गर्न, उखु किसानले नियमित रूपमा पाउँदै आएको अनुदान रकम तत्काल उपलव्ध गराउन, यो वर्ष चामल लगायत खाद्यान्नको अभाव हुने देखिएकाले पूर्वतयारी गर्न, किसानले उत्पादन गरेका वस्तु विक्रीको व्यवस्था मिलाउन, पानी नपर्दा खानेपानीको स्रोत सुकेकाले व्यवस्था गर्न, रासायनिक मल र वीउ विजनको व्यवस्था गर्न माग गरिएको छ ।
सर्लाहीमा जिल्ला अध्यक्ष राजनारायण साह, धनुषामा उपाध्यक्ष भोला यादव, सिरहामा पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज सुमनराज प्याकुरेल एवं अध्यक्ष चन्देश्वर मण्डल, सप्तरीमा जिल्ला अध्यक्ष ताराकान्त चौधरी, रौतहटमा जिल्ला संयोजक संचिदानन्द साह, महोत्तरीमा अध्यक्ष कालिचरण साह, बारामा सचिव अध्यानन्द पाण्डे र पर्सामा अध्यक्ष विश्वम्भर शर्माले ज्ञापनपत्र बुझाएका हुन् ।




