काठमाडौं । मधेस प्रदेश सरकारले तत्काल पूर्णता नपाउने भएको छ । मधेश प्रदेश सरकारबाट एमाले बाहिएपछि मधेश प्रदेश सरकारलाई सरकार गठन गर्ने समय लाग्ने भएको हो । गत चैत २१ गते सरकारबाट एमाले बाहिरिएसँगै मधेस प्रदेश सरकारका चार वटा मन्त्रालय खाली नै छन् ।
प्रदेश सरकारलाई पूर्णता दिने सवालमा सत्ता गठबन्धनले चासो नदेखाएपछि बजेट निर्माणमा समेत विभिन्न मन्त्रालयमा मन्त्रीको अभावमा समस्या सिर्जना भएको थियो ।
जसपा नेतृत्वको प्रदेश सरकारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी सामेल छन् ।
गत जेठ ११ गते मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा कांग्रेससका कृष्ण प्रसाद यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा वीरेन्द्र प्रसाद सिंह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई नियुक्त गरे ।
तर मन्त्रालय समायोजन तथा नाम हेरफेर हुँदा सामाजिक विकास मन्त्री सुरिता कुमारी साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका जनमतका बसन्त कुमार कुशवाहालाई बिना विभागीय बने ।
जसपाबाटै सामाजिक विकास राज्यमन्त्री रहेका शेख अब्दुल कलाम आजाद र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जयकुमार यादव पनि अहिले बिना विभागीय छन् । उनीहरूको विभाग कहिले तोकिने भन्ने अझै टुङ्गो लागेको छैन ।
तर सरकारका प्रवक्ता एवं अर्थमन्त्री संजयकुमार यादवले श्रावणको पहिलो साता सरकार विस्तार हुने बताए । उनले बिहीबारदेखि बजेट उपर छलफल भइरहेको जनाउँदै बजेट स्वीकृत भएपछि सरकारलाई पूर्णता दिइने बताए ।




