संकल्पखबर। जनकपुरमा राष्ट्रिय सभा निर्वाचनको मतदान भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ।
मतदान भवनमा प्रवेश गर्न खोज्दा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुदा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो।
आज बिहानैदेखि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए।
मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीका कार्यकर्ताहरुले बिहान देखि जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा टायर बालेर प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो।
सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए।
यसै क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीहरू माथि पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो।
यता झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको सो पार्टीले बताएको छ।




