पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निम्तोमा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतसहितको टोली पोखरा पुगेको छ ।
मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उनीहरुबीच औपचारिक भेटवार्ता समेत भएको छ । भेटवार्ताका क्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नु परेको बताए ।
उनले भने,‘अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ । त्यसैले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाउन आवश्यक छ ।’
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए । साढे २ वर्ष अगाडि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले सम्मेलनले उठाएका सवाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको बताए ।




