जनकपुर । प्रदेश दुईका स्थानीय निकायहरू विकासमा भन्दा ऐसोआराममा बढी खर्च गरेको देखिन्छ।धनुषाका विदेह नपाका मेयर बेचन दास (तत्मा) ले एक वर्षमा रक्सी र मासुमा मात्र रू २५ लाख भन्दा बढी खर्च गरेको छ भने महोत्तरी जिल्लाका लोहापट्टी नपाका मेयरले खाजामा रू ७० र इन्धनमा रू ४० लाख खर्च गरेको तथ्य फेलापरेको छ।
मेयर दासले २०७८ मा विभिन्न मदिरा पसल तथा कोल्ड स्टोरलाई १३ पटक गरि रू २४ लाख ९९ हजार ३ सय ५५ दिएको छ जसमा शम्भु मदिरा पसललाइ रू २ लाख ८१ हजार १ सय ९५, राम सेवक कोल्ड स्टोरलाई रू ५ लाख ४४ हजार ७ सय ३०, होटल फुलवारी लाई रू १२ लाख ७२ हजार २ सय १५, विभिन्न मितिमा भुक्तानी दिएको देखिन आएको।
अर्कोतिर महोत्तरी जिल्लामा पर्ने लोहापट्टी नपाले एक वर्षका अवधिमा विभिन्न मितिमा खाजाखाना मात्र रू ७८ लाख २९ हजार र ईन्धनमा मात्र रू ४० लाख ५० हजार नियम विपरीत खर्च गरेको मलेपको ५८ अौ २०७८ ले जनाएको छ।
त्यस्तैविधि महोत्तरी जिल्ला कै गौशाला नपाले दैनिक रू ४५ हजारका दरले आब २०७६/०७७ मा मात्र रू १ करोड ६६ लाख ६२ हजार २ सय ४ ईन्धनमा खर्च गरेको छ। उक्त नपामा रू १८ करोड ७९ लाख २० हजार बेरूजु भएको छ। जसमा मलेपले रू १ करोड ६ लाख २० हजार असुलउपर गर्नुपर्ने जनाएको छ । मेयर शिवनाथ महतो र उपमेयर आशा लामाले सहितका अन्य पदाधिकारी समेत मिलि नियम विपरीत सेवासुविधा बापत रू ९७ लाख २५ हजार ५ कुम्ल्याएका छन। नपा भित्र को अनुगमाका नाउमा खाजा र भत्ता बापत रू१० लाख ५३ हजार १ सय २५ भुक्तानी गरेको छ भने भ्रमण भत्ता बापत रू ८ लाख ७९ हजार ९ सय २५ र मूल्यांकन बापत रू १ लाख ७३ हजार २ सय खर्च गरेको देखिन्छ।
सबैला नपाले स्थानीय निकाय ऐन र कानूनलाई धोती लगाउँदै एक वर्षमै रू ५ करोड ७६ लाख ५५ हजारको गाडी खरिद गरेको छ। अहिलेसम्म सबैला नपाको ५८ करोड ४९ लाख ५४ हजार बेरूजु भएको छ।लेखापरीक्षणबाट २८ करोड २७ लाख २९ हजार बेरूजु मध्ये ४६ लाख ७७ हजार असुल गर्नुपर्ने, १८ करोड ३ लाख ६२ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने , नियमित तिर्नुपर्ने रू ३ करोड २८ लाख ९३ हजार र रू ६ करोड ४७ लाख ९३ हजार पेश्की बाँकी रहेको छ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाले पनि पालिका भित्रै अनुगमन भत्ताको नाउँमा जनप्रतिनिधि लाई एक वर्षका अवधिमा रू २६ लाख उपलब्ध गराएको छ भने नपाका पदाधिकारी तथा कर्मचारीलाई अनुगमन भत्ता बापत रू २८ लाख ९५ हजार उपलब्ध गराएको देखिन्छ।




