जनकपुरधाम । नेपाल भारत सीमालाई जोर्ने व्यापार तथा सर्वसाधारणका लागि मुख्य नाकाको रूपमा रहेको भिट्ठामोड नाका १७ महिना पछि खुला गरिएको छ। कोरोना महामारीका कारण विगत २०७६ सालको चैत्र महिनाको ११गते देखि महोत्तरीको जलेश्वर नगरपालिकाको मलिबारा गाउँमा पर्ने भिट्ठामोडको मुख्य भन्सार नाकाबाट व्यपार सञ्चालन भए पनि स्रवसाधाणलाई आवतजावत गर्न कठिनाई हुँदै आएको सर्वविदितै थियो।
जलेश्वर नपा ३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा गएको शुक्रबार, शनिवार र आईतवार लगातार तिनै दिन लगभग सय जनाको समुहले सो सीमा नाकामा धर्ना बसेपछि आपसी सहमतिमा सोमबार देखि सर्वसाधारणका लागि पहिलाको जस्तै आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताएका छन।
मालवाहक गाडीमा कुनै रोक नभए पनि पैदल यात्रु घुमेर आवतजावत गर्नुपर्ने बाध्यकारी र कष्टपूर्ण अवस्था रहेको थियो। पैदल यात्रुका निमित्त खुला गरिए पनि दुवै देशका मालवाहक ढुवानी सेवा वाहेक सवारी गाडी आवतजावतमा छुट दिएको छैन।




